अपाङ्गता भएकाहरु र ज्येष्ठ नागरिकहरुको विशेष ख्याल राखौँ।


तीन महिना अघि 'चीनमा अज्ञात रोगका कारण कैयौँ बिरामी' शिर्षकको समाचार हेरिरहदा यसले यति ठुलो महामारीको रुप लिएर विश्वलाई नै प्रभावित बनाउने यति ठुलो स्वास्थ्य संकट निम्त्याउला भनेर सायदै कसैले कल्पना गरेको थियो होला। नोभेल कोरोना भाइरस वा कोभिड-१९ नाम दिइएको यस महामारी हाल विश्वव्यापी रूपमा शताब्दीकै सबैभन्दा ठुलो स्वास्थ्य संकटका रुपमा देखिएको छ। चीन हुँदै युरोप, मध्य पूर्व, अमेरिकाका देशहरूमा यसबाट संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु बताउछन्।

यस भाइरसको 'आउटब्रेक' भएको भनिएको अथवा केन्द्रबिन्दु मानिएको छिमेकी मुलुक चीनमा नियन्त्रणमा आउन थाले पनि अन्य देशमा फैलिरहेको परिप्रेक्ष्यमा नेपाल यस महामारीको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन्। यसै सन्दर्भमा ढिलै भए पनि नेपाल सरकारले पनि जोखिम न्यूनीकरणका प्रयास स्वरुप नाकाबन्दी, लकडाउन आदि घोषणा गरेको छ। केही विलम्ब भए पनि संक्रमणको जोखिम न्यूनीकरण गर्न यसबाट सहयोग पुग्ने कुरामा दुईमत छैन। यसमा जनताको साथ र सहयोग अपरिहार्य छ। त्यसैले सरकारले जारी गरेका निर्देशनहरुको अक्षरशः पालना गर्नु हामी सबैको कर्तव्य हो।

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताइरदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दिर्घ रोगीहरु झनै जोखिममा रहने विज्ञहरुको भनाइ छ। नियमित अरुको सहारा चाहिने म जस्ता अपाङ्गता भएकाहरु वा उनका सहयोगी छुट्टै वा 'आइसोलेसन' मा बस्दा हेरविचार कसले र कसरी गर्ने भनेर सरकार लगायत कसैले केही बोलेको सुनिदैन। 'आइसोलेसन'मा बस्ने भनेर निर्देशन दिइरहदा म जस्ता अतिअसक्त अपाङ्गता भएकाहरुको बारेमा पनि सोच्नु आवश्यक छ। यस तर्फ राज्यका निकायहरुको ध्यान पुगोस्।

अपाङ्गता भएकाहरु, ज्येष्ठ नागरिकहरु र दिर्घरोगीहरु संक्रमित हुन नदिन सबैले विशेष सावधानी अपनाउनु जरुरी छ। यसलाई महामारीको रुपमा फैलिन नदिन सचेत बनौँ। संयमित बनौँ। सरकार वा विज्ञका निर्देशन वा सुझावहरुको पूर्ण पालना गरौँ र अरुलाई पनि प्रेरित गरौँ।

Post a Comment

Previous Post Next Post