ह्विलचियर कृत्रिम अङ्ग हो, नेपालगञ्जको‌ घटना: असंवेदनशीलताको पराकाष्ठा



हिजो पछिल्लो व्यवस्था परिवर्तन पछिको स्थानीय तहको दोस्रो निर्वाचनको मतदान गर्ने दिन थियो। यहि त हो नागरिकले आफूलाई अलिकति भए पनि सार्वभौम र अधिकार सम्पन्न महसुस गर्ने दुर्लभ अवसर। यस अवसरको सदुपयोग गर्नुपर्छ र पाउनुपर्छ। यसैबिचमा शिलापत्र डटकममा प्रकाशित ‘अपाङ्गता भएकालाई मतदान केन्द्रमा ह्वील चेयर प्रयोग गर्न दिइएन, घिस्रिएर गई भोट हाले’ शिर्षकको समाचारले मन अमिलो पार्यो, भाउन्न भयो र सामाजिक सञ्जालमा आक्रोश पनि पोखियो।


अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान स्थलमा सहायक सामग्री ह्विलचियर लैजान रोकिएपछि अपाङ्गता भएका दिदीबहिनी, दाजुभाईहरु घस्रेर वा अरुको पिठ्युँमा बोकिएर जानुपर्ने स्थिति सिर्जना भयो। मताधिकारको उपभोग गर्ने क्रममा प्रशासनबाट भएको यस किसिमको स्वाभिमानमा ठेस पुर्याउने, अपमानजनक र अमानवीय व्यवहार कदापि सह्य छैन।


ह्विलचियर, लट्ठी आदि सहायक सामग्री कृत्रिम अङ्ग हुन्। रहरले कसैले सहायक सामग्रीको सहायता लिने होइन। ह्विलचियरलाई एउटा सवारी साधनको रुपमा लिनु असंवेदनशीलताको पराकाष्ठा हो। नियम वा कानुनको पालना गराउनुपर्ने दायित्व बोकेका राज्यका निकायबाटै यो किसिमको असंवेदनशील र विभेदपूर्ण व्यवहार देखिनु किमार्थ स्वीकार्य छैन। हरेक नागरिकले भ‌य रहित वातावरणमा गोपनीयताको हकको सुरक्षा हुने गरी मतदान गर्ने वातावरण सिर्जना गर्न राज्य अथवा आयोग असफल भएको हो वा बेवास्ता हो। बुझ्न सकिएको छैन।


 मतदान स्थल र त्यहाँका संरचना अपाङ्गमैत्री (मतपेटिका सम्मै ह्विलचियर लैजान सहज बनाउने, र्याम्प वा रेलिङ, मतपेटिका होचो ठाउँमा राख्ने, मतदाता शिक्षामा विशेष ध्यान दिने, मानवोचित र सम्मानजनक व्यवहार देखाउने) बनाउनुपर्नेमा गेट भित्र ह्विलचियर लैजान नदिएर हाम्रा कष्ट बढाउने अवस्था सिर्जना गर्ने घृणित कार्यका विरुद्धमा एकजुट हुनु आवश्यक छ। यसो भन्दै गर्दा जुन वर्गको मुद्दा हो उसैले मात्र आवाज उठाउनुपर्छ भन्ने मान्यता स्थापित भएको छ, त्यसलाई हटाउनु आवश्यक छ। आखिर हामी यहि समाज र राष्ट्रका अङ्ग नै हौँ।


 अपाङ्गता भएका नागरिकहरुको अधिकारको खिल्ली उडाउने गरी मतदान स्थल अपाङ्गमैत्री बनाउन गम्भीरता नदेखाउने संवैधानिक आयोगले पनि यसको जवाफ दिनुपर्छ र आगामी दिनहरुमा यस्ता घटनाहरु नघट्ने सुनिश्चित गर्नु जरुरी छ। नेपालगञ्जको यो घटना प्रतिनिधि घटना मात्र हो।


शारीरिक प्रतिकुलताका बाबजुद नागरिक अधिकार र कर्तव्यको उपयोग र पालन गर्दा अपाङ्गता भएका व्यक्तिहरु माथि भएको विभेदपूर्ण, अमानवीय र असंवेदनशील व्यवहारको घोर भर्त्सना गर्दछु। साथै सम्बन्धितलाई सजाय र आगामी दिनमा संविधान प्रदत्त अधिकार र मौलिक हकको प्रत्याभूतिको सुनिश्चितताको माग गर्दछु। अनि‌श्चिततै अनिश्चितताले भरिएको जीवन जान्दाजान्दै मान्छेका अहंकार देख्दा दया जाग्छ।

Post a Comment

Previous Post Next Post