अपाङ्गता र आइसोलेसन



कोरोना भाइरस जस्ता अतिसंक्रामक रोगको जोखिम न्यूनीकरण गर्न क्वारेन्टाइन, आइसोलेसन वा सोसल डिस्टेन्सिङ्गलाई सबैभन्दा प्रभावकारी उपाय मानिएको छ। सोसल डिस्टेन्सिङ्गलाई कायम गर्न र कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न संसारका अधिकांश देशले झैँ नेपाल सरकारले पनि 'लकडाउन' को घोषणा गरेको छ। आशा छ सरकारको यस कदमले नेपालमा यसलाई महामारीको रुप लिनबाट रोक्न सकिनेछ। सरकार र विज्ञहरुका निर्देशन र सुझावको पूर्ण पालना गर्नु सम्पूर्ण जनताको दायित्व हो।

लकडाउनका कारणले जनताले विभिन्न किसिमका अप्ठयाराहरु भोग्नु परिरहेको छ। यो विषम परिस्थितिमा लकडाउन नगर्दा हुन सक्ने सम्भावित जोखिमको तुलनामा अहिले भोग्नुपरेको सास्ती निकै कम भएको तथ्य सबैले बुझेर यसको पालना गर्नु आवश्यक छ। सरकारले विपदको उचित व्यवस्थापन गर्न अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देख्छु। अतिविपन्न, अपाङ्गता भएका र असहायहरुलाई अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधि आदिको व्यवस्था जतिसक्दो छिटो स्थानीय निकायहरु मार्फत गर्न अनुरोध गर्दछु।

विज्ञहरुका अनुसार ज्येष्ठ नागरिक र दिर्घरोगीहरुमा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ। जस अनुसार अपाङ्गता भएका हामीहरु यसको उच्च जोखिममा रहने भइयो नै। सामान्य अवस्थामा नै स्वास्थ्य समस्या लगायतका अनेकौँ समस्याहरुको सामना गर्दै बाँचिरहेका हामीहरु महामारीको विषम अवस्थामा बढ्ता पिडित हुनुपर्ने तितो यथार्थ हो।

विगत ६/७ बर्ष देखि घर भन्दा बाहिर ननिस्केको अथवा 'आइसोलेटेड' बसेको मेरा लागि आइसोलेसन नौलो भएन। तर 'व्यक्तिगत दुरी' कायम गर्नु हाम्रा लागि पक्कै सजिलो छैन।

विगत ६/७ बर्ष देखि घर भन्दा बाहिर ननिस्केको अथवा 'आइसोलेटेड' बसेको मेरा लागि आइसोलेसन नौलो भएन। तर 'व्यक्तिगत दुरी' कायम गर्नु हाम्रा लागि पक्कै सजिलो छैन। बस्नु, उठ्नु, खानु, शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ जस्ता नियमित क्रियाकलापमा अरुमा निर्भर रहनेहरुका लागि 'व्यक्तिगत दुरी' अथवा 'पर्सनल/सोसल डिस्ट्यान्सिङ्ग' कायम गर्नु असम्भव जस्तै हुन्छ। यस्तो अवस्थामा हामी र हाम्रा संरक्षक/सहायकहरुमा बढ्ता संक्रमणको जोखिम हुने कुरा अस्वाभाविक रहेन। कतै संक्रमित भएमा वा संक्रमणको शंका लागेर आइसोलेसन वा क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आएमा हाम्रो अवस्था के होला!

शारीरिक र मानसिक पिडा सहनु अरुलाई भन्दा तुलनात्मक रूपमा हामीलाई सहज होला किनभने हामीलाई शारीरिक वा मानसिक पिडा सहने बानी परिसकेको छ। यसका अलावा यस्तो परिस्थितिमा सबैभन्दा पिडित हुने हामीहरु नै हो। सामान्य अवस्थामा नै हातमुख जोर्न गाह्रो भइरहेकालाई यति लामो बन्दका कारण भोकै मर्ने अवस्था सिर्जना हुने निश्चित छ। यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सरकारले राहतका प्याकेज घोषणा त गरेको छ। त्यसमा सबैभन्दा बढ्ता जोखिममा रहेका हामी अपाङ्गता भएकाहरुको विषयमा ध्यान नदिएको देखिन्छ। हामी नागरिकको दायित्व निर्वाह गर्न प्रतिबद्ध भए झैँ सरकारले नागरिक प्रतिको दायित्व निर्वाह गर्न नहिच्किचाओस्।

सरकार र विज्ञहरुका निर्देशन वा सुझावहरुको पूर्ण पालना गरौँ। अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गरौँ। बचौँ र बचाऔँ।

Post a Comment

Previous Post Next Post