लेख्ने इच्छा जागेपछि...



शरीरमा बलको अभाव महसुस भए देखि अभावहरुको पहाड चुलिने क्रम रोकिएको छैन। अभाव त अभावकै छैन, अनि थोरै आत्मविश्वास र धेरै पिडाको। यो नहुने सायद संसारमा कोही र कुनै प्राणी छैन होला, कुरा मात्रा र अनुपातको हो। हो म त्यो अल्पसंख्यक समुदायबाट हुँ।


आफ्नो अस्तित्व महसुस भए देखि नै आफूमा अपाङ्गता महसुस गरेको हुँ। उहिले देखि अहिलेसम्म शारीरिक र मानसिक अवस्थामा धेरै परिवर्तन आएको साक्षी म नै छु।


आफ्नो बारेमा यति लेख्नुको मतलब मैले अपरिचितहरुका लागि मात्र यो ब्लग लेखिरहेको भन्ने होइन। धेरै दिन देखि केही लेख्ने र पोष्ट गर्ने इच्छा हो, त्यही पूरा गर्दैछु। यो अपरिचित मित्रहरुका लागि पनि हो। त्यसैले थोरै परिचय पनि प्रस्तुत गरेँ।


अँ, म आज केही न केही त लेखेर मेरो ब्लग साइटमा पोष्ट नगरी नछाड्ने विचारमा छु। मेरो यो लेखन यसरी अगाडि बढ्छ।


आजकल म एउटा न्यूज पोर्टल (वेबसाइट) सञ्चालन गरिरहेको छु। समयको सदुपयोग नै भएको छ जस्तो लाग्छ। उद्देश्य त यसले केही अभावहरु घटाउन मद्दत गर्नु नै हो। यसै बिचमा फेसबुकले इन्स्टान्ट आर्टिकलको ‘eligible' देशको सुचिबाट नेपाललाई हटाएको खबरले उद्देश्य पूरा नहुने संकेत देखिएको छ।


कानुनी व्यवस्था अनुसार सम्बन्धित निकायमा मिडिया कम्पनी दर्ता गरेर सञ्चालन गर्ने इच्छा हो तर अहिले भर्खर यो सहज छैन। प्रतिकुलताका कारण कानुनको अवहेलना गरेको जस्तो हुँदा दुःख लाग्नु स्वाभाविक हो। भरमग्दुर कोसिस गर्ने नै छु।


लामो समय देखि अध्ययन गर्ने बानी छुटेको छ। यद्यपि अनलाइनमा उपलब्ध सामग्री अलिअलि अध्ययन गर्ने गरिरहेको छु। अबका दिनमा अध्ययनलाई प्राथमिकता दिने सोचेको छु।


अब देखि नियमित ब्लगहरु पोष्ट गर्ने विचारमा छु। अध्ययनको अभावका कारण होला मेरा लेखहरुमा स्तरीयताको अभाव पक्कै हुन्छन्। मेरा विचार वा दृष्टिकोण किन पढ्ने भनेर बताउने स्पष्ट कारण पनि अहिलेलाई बताउन सकिनँ। ति हरेक पोष्टहरू एकल विषय केन्द्रित हुनेछन्। यतिका बेर समय दिएर पढिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। अब अर्को ब्लग वा स्टाटस वा स्टोरी वा ट्विट वा मेसेन्जर... भेटौँला। नमस्कार!

Post a Comment

Previous Post Next Post